झापा । “बुढी अब म युद्ध क्षेत्रमा जाँदै छु । हामी पाँच जनालाई लगिँदै छ । फोन सम्पर्क नहुन पनि सक्छ । लोग्ने युद्धमा छ भनेर नरुनू । पिर चिन्ता नलिनू । छोराछोरीको राम्रोसँग ख्याल गर्नू । मेरो भर छैन ।”
लालबहादुर घर्तीले रुसबाट श्रीमती भुमालाई अन्तिम पटक भनेको संवाद हो यो । गत माघ २ गते फोनवार्तामा लालबहादुरले ‘एक हप्तामा आउन सके आइहाल्छु, नत्र मेरो लोग्ने जीवित छैन भनेर सम्झनू’ भनेका वाक्य भुमाका कानमा अझैसम्म गुन्जिइरहेको छ ।
प्युठानको स्वर्गद्वारी नगरपालिका–७, तापाका ३९ वर्षीय लालबहादुर साउदी अरबमा गाडीचालक थिए । स्वदेश फर्किएर कुखुरा, बाख्रा र माछापालन व्यवसाय गरेका लालबहादुर कुबेत जान भनेर काठमाडौँ पुगे । उनको भेट एजेन्टसँग भयो । एजेन्टले मासिक पाँच लाख रुपियाँ पाइने आकर्षण देखाएपछि उनी लोभिए र रुस पुगे । लालबहादुरकी पत्नी भुमाले भनिन्, “युद्ध क्षेत्रमा जाँदै छु भन्नुभएको थियो । आखिर उहाँको त्यही बोली नै अन्तिम भयो ।”
पति गुमाउँदाको अकल्पनीय पीडासँगै उनलाई ऋण तिर्ने पीडा पनि थपिएको छ । लालबहादुरले रुसी सेनामा भर्ती हुन लागेको भन्दै पत्नीलाई आफन्तसँग ऋण खोजेर पठाइदिन भनेका थिए । भुमाले नौ लाख रुपियाँ सरसापट गरी पठाइदिए । “अब ऋण कसरी तिर्ने होला ? ” उनले आँसु झार्दै भनिन्।
लालबहादुर १२ र १७ वर्षकी छोरी तथा १० वर्षका छोरा, पत्नी र आमाबाबुलाई छाडेर गत कात्तिक ३ गते दुबई हुँदै रुस पुगेको थियो । चैत २ गते नै भुमाले पतिवियोगको समाचार सुन्नु प¥यो । युद्ध भूमिबाट स्याङ्जाका साथीले फोन गरेर दुःखद समाचार भुमासम्म पु¥याइदिएका थिए ।
प्युठान नगरपालिका–४, काठेवरका २९ वर्षीय सोमेश सुनारको परिवार पनि यस्तै पीडामा छ । रुसी सेनामा भर्ती भएर युद्धमा होमिएको डेढ महिनामै उनले जीवन गुमाउनु प¥यो । धन कमाउन डेढ वर्षअघि कतार पुग्नुभएका सोमेश त्यतैबाट रुसी सेनामा भर्ती भए । आजको गोरखापत्र दैनिकमा खबर छ ।