“सम्झनामा दुधाली मेला”
आज पनि स्मरण मा ताजै छन ती दिनहरु ती पलहरु !उ बेलाको गाउँले परिवेश , त्यो बेला को बालापन अनि विद्यार्थी जीवन।
कति आनन्द रहेछ उ बेला ! न ब्याबहारको तनाव , न कुनै जिम्मेवारी ।
कति स्वतन्त्र रहेछ जीवन ,त्यो बेला जति स्वतन्त्रताको अनुभुती गरियो सायदै अब जिबनले त्यो स्वतन्त्रताको अनुभुती कहिले पनि गर्नेछैन।
कति खुसी ती दिनहरु आज सम्झदा मुटुमा भक्कानो आउँछ ,अतितका स्मरणले मानस्पटलमा कता कता दर्बिलो गरि घोची दिन्छ ।
झापाको ग्वाल्डुबा बजारबाट नजिकै दुधाली बजार छ । आदिवासी जनजातीहरुको बाहुल्यता रहेको त्यो बजार झापाको पुरानो बजार नै होला सायद अझैपनी । जब चैत लाग्थ्यो मनमा छुट्टै आनन्दको अनुभुती हुन्थ्यो ।
बिधालयको बार्सिक परिक्षा पनि सकिएको र अर्को कक्षामामा पुगिसकेको बेला हुन्थ्यो । नयाँ बर्षको स्वागत गर्ने चलन उहिले देखि नै रहेछ तर तौरतरिका र परिवेश केही फरक ।बैशाख १ सुनबर्सी मेला लाग्थ्यो २ गते काटा र सिजुवामेला । आजको जस्तो आधुनिकता रहेनछ उ बेलाको समयमा । न गाडी घोडा न बाइक । जम्मा जम्मी बुबाको एउटा् २४ इन्चको को भैया हरकुलस साइकल । मोरङ जिल्ला र घर बाट टाढा भएरै होला चाहेर पनी सुनबर्सी मेला चाहिँ जान सकिन्न थ्यो त्यो बेला ।आफू भन्दा केही ठुला र साइकल हुने साथिभाइहरु सुनबर्सी मेला जान्थे । आफू जान नसकेको मा छाती मजालेनै पोल्थियो तर बैशाख ३ पर्खनुको अर्को विकल्प पनि थिएन ।बैशाख २ को रात निकै छट्पटी कतिबेला उज्यालो होला भनेर। सबै रातहरु छोटा हुन्थे तर त्यो रात निकै लामो कहिल्यै नकट्ने ।जसोतसो उज्यालो हुन्थियो। मन अर्कै ,खुट्टामा छुटै फुर्ती ,जिउ नै फ़ुर्तिलो ८ बजे भित्रमा बाख्रा लाई टाटना भरी बाँसको घाँस हालेपछि मेरो काम सकिन्थ्यो । अनि दुधाली जाने तयारी ।छुट्टै उमंग ,छुट्टै खुसी,आमाको सारी थोत्रो भएपछी अन्तरे दाइले सिलाइ दिएको हरियो झोला भदौ मा २० को चार तारीमा धोएर कमाएको पाटा बेचेको पैसा अनि मङ्सिरको सिला धानबेचेर साचेको पैसा लगभग ३०/४० रुपैया बोकेर दुधाली हिडिन्थ्यो।
४० रुपैयाँको बल र तुजुक आजको ४० हजारले नभेटेने रहेछ सम्झदा। चर्को घाम अलि अलि हुरी तर कुनै प्रवाह थिएन ज्यान लाई। करिबकरिब २ घन्टा जति बाबा को बुडि औंला समाएर पुगिन्थियो दुधाली ।बाटोमा गरेको चकचक अहिले बाबाले सुनाउदा कथा झै लाग्छ। १५ रुपैयामा झोला भरी ताता जिलेबी,पहेला पहेला ठुङ्री अनि खुर्मा। धित मरुन्जेल खाए पछि पनि गोजि गरुङ्गोनै रहन्थ्यो । ५ रुपैया मा ८/१० वटा मिथुन चक्रवर्ती,मनिषा कोइराला ,भुवन केसिका पोस्ट कार्ड किन्ने धोको जरुर पूरा गरिन्थ्यो ।सब बिर्से पनि पोस्ट कार्ड किन बिर्सन्थियो र?नयाँ बर्षमा साथी लाई पोस्ट कार्ड त पठाउनु पर्थियो नै। सायदै म नि आफुलाई भुवन केसि र मिथुन नै सम्झन्थे क्यार।अनि आफ्ना केही केटी साथीहरू लाई मनिषा र जल साह ।
एउटा कोटेसन को याद अझै छ”
“धान कुटि चामल त चामल कुटि पिठो
तिम्रो माया लाग्छ मलाई चिनी भन्दा मीठो”
जुनेली रातमा
तस्बिर छ हातमा
लेख्दैछु यो पोष्टकार्ड
मात्र माया तिम्रै यादमा ।।
सायदै आफुलाइ भुवन केसि नै सम्झिन्थे क्यार ।पोस्टकार्ड को पछाडि येस्तो कोटेसन लेखेर मन परेको मुन्छे लाई पठाउन पाए मननै अर्को हुन्थ्यो ।
आज को जस्तो मोबाइल र इन्टरनेट थिएन।फेसबुक,इमो,भाइवर ,मेसेन्जर कुन चरीको नाम हो सुनेको थिएन ।पोस्ट्कार्ड पठाउन किताबको सहारा लिनै पर्ने।किताबको बिच भागमा साइनपेन ले बनाएकाफुलका तस्बिर ,कोटेसन र केही प्रेम भावका सब्दहरु भएको कार्ड साथी मार्फत पठाए पछि उत्तर कहिले आउँछ भन्ने पर्खाइमा निकै रात छ्ट्पटी मै बित्थे। उत्तर को माध्यम किताब नै थियो।हप्ता पछी साथीले किताब दिन्थियो। किताबको बीचमा तेस्तै पोस्ट्कार्ड। फोटो भने फरक हेमा मालिनी। सायदै उ पनि आफूलाई हेमा मालिनी नि सम्झिन्थिन क्यारे।पोस्टकार्ड कहिलेकाही झगडामा को कारण बन्थियो त्यो चाहिँ अहिले भन्न सकिन।
तेहि कार्ड कतिपय को बाधक बन्यो कतिपय को साधक।कार्ड कै कारण कति भावनाहरु जिवित नै छन। तिनै यादहरु सगालेर आज सम्म जीवन यात्रा चलिरहेछ। जीवनकाल येस्तै नि होला। कवि खुसी कवि गम। सु:ख दुख अनमोल जीवनका दृश्य अदृश्य भोगाइ रहेछन केबल अनुभुती रहेछ्न। आज जीवन यो मोड मा आइ पुग्दा पनि यी अतित का स्मरणहरु ताजै छन। ती याद हरु अझै ताजै छन ।
शुभ दिन
किशोर दुलाल,काठमाडौं