काठमाडौं ।।
हाइड्रोपावर कम्पनीहरूलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनमा कडाइ गरेको छ । नेपाल धितोपत्र बोर्डका पदाधिकारी र स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, नेपाल (ईपान)का पदाधिकारीबीच मंगलबार भएको छलफलमा कडाइ गर्ने निर्णय भएको हो । अब आईपीओ निष्कासन गर्ने हाइड्रोपावर कम्पनीहरूले आफूले ऋण लिएका बैंकबाट भौतिक पूर्वाधारको प्रगति कम्तीमा ५० प्रतिशत सम्पन्न भएको प्रमाणित गर्नुपर्ने निर्णय गरेको छ ।
त्यस्तै, कम्पनीहरूले प्रमाणित कपी बोर्डमा बुझाउनु पर्नेछ । तर, जलविद्युत् कम्पनीहरूले भौतिक पूर्वाधारको कम्तीमा ६५ प्रतिशत कार्य सम्पन्न भएको प्रमाणित विवरण पेस गरेपछि मात्र बोर्डले आईपीओ निष्कासनको अन्तिम स्वीकृति प्रदान गर्ने सहमति भएको छ ।आईपीओ निष्कासनबाट प्राप्त भएको रकम जलविद्युत् कम्पनीहरूले बैंकको ऋण भुक्तान प्रयोजन वा कम्पनीको चालु परियोजनाको सम्पन्नका लागि मात्र प्रयोग गर्ने सञ्चालक समितिको प्रतिवद्धता बोर्डमा पेस गर्नुपर्नेछ ।
जलविद्युत् कम्पनीले नेटवर्थ चुक्तापुँजीभन्दा कम भयो भने पनि हकप्रद सेयर निष्कासन गर्न नपाउने सहमति भएको छ । यो व्यवस्था आगामी दिनमा बोर्डमा दर्ता हुने कम्पनीको हकमा मात्र लागु हुने बताइएको छ । हाल बोर्डमा निवेदन दर्ता गरिसकेका कम्पनीको हकमा यो व्यवस्था लागु नहुने बताइएको छ ।