April 19, 2024 | शुक्रबार, बैशाख ७, २०८१
सुचनाहरु
प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभा बैठक स्थगित सुप्रिम सहकारी : ओमप्रकाश गुरुङलाई थुनामा पठाउन आदेश, दिपेश पुनसँग ४ लाख धरौटी माग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने संकल्प प्रस्ताव संविधानविपरीत छ, प्रदेशसभालाई अपवित्र नबनाऔँ: मुख्यमन्त्री कार्की महाजात्रा : विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन जसपाकी सांसद हसिनाले लिइन् शपथ एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो नेपाल कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव बहुमतले पारित चैतमा ७० हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेश गए स्वास्थ्य मन्त्रालयले भन्याे- सरकारीमा कार्यरत चिकित्सकले निजीमा काम गर्नु कानुनविपरीत सिन्धुपाल्चोक जन्ती बस दुर्घटना अपडेट: मृतक ३ जनाकाे परियच खुल्यो सुनको मूल्य बढ्यो यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान क्रिकेटर हार्दिक पाण्ड्यालाई १२ लाख जरिबाना विवादका बीच गण्डकी प्रदेशसभाको बैठक बस्दै कस्तो रहला आजको मौसम ? आईपीएल : मुम्बईसग पञ्जाब ९ रनले पराजित

संवैधानिक परिषद्‍मा नयाँ व्यवस्था, भागवण्डाकै निरन्तरता

  • साझा परिवेश
  • सोमवार, चैत्र १३, २०७९ १४:४९
संवैधानिक परिषद्‍मा नयाँ व्यवस्था, भागवण्डाकै निरन्तरता

डा. विपीन अधिकारी ।  संविधान निर्माताको उद्देश्य संवैधानिक परिषद्को सामान्य बहुमतबाट निर्णय गर्ने होइन । यदि बहुमतले नै नाम परित गर्ने हो भने संवैधानिक परिषद्को आवश्यकता नै हुँदैनथ्यो ।

सिद्धान्ततः राज्यका निकायहरूमा नियुक्तिको अधिकार कार्यकारिणीको हो ।

त्यसहिसाबले यो अधिकार प्रधानमन्त्रीकै हो तर प्रधानमन्त्रीले नियुक्तिको सिफारिश गर्दा जथाभावी गर्लान्, त्यो प्रक्रियालाई राजनीतिक नेतृत्वले नियन्त्रण गर्लान् अनि अक्षम र अदक्ष मान्छेको सिफारिश होला भनेर संवैधानिक परिषद्ले सिफारिश गर्ने व्यवस्था गरिएको हो ।

संवैधानिक परिषद्बाट सिफारिस गरी नियुक्ति प्रक्रिया अघि बढाउनकै लागि प्रधानमन्त्रीले राम्रो मान्छे प्रस्ताव गर्ने, संवैधानिक परिषद्मा ‘भेटिङ’ गर्ने व्यवस्था गर्न खोजिएको हो ।

त्यो भन्नुको अर्थ हो– प्रधानमन्त्रीले कुनै व्यक्ति प्रस्ताव गर्नुभो तर परिषद्का बाँकी सदस्यले त्यसलाई सहमति दिएनन् भने फेरि अर्को व्यक्तिमा जानुपर्छ । त्यो नाममा पनि सहमति भएन भने तेस्रो, चौथो मान्छेको नाममा छलफल जानुपर्छ ।

संवैधानिक परिषद्ले नियुक्तिको सिफारिस गर्ने संवैधानिक पदहरूमा प्रस्ताव गर्ने प्रधानमन्त्रीले नै हो । लोकतान्त्रिक परिपाटीमा त्यो अधिकार प्रधानमन्त्रीसँग भएन भने उसले देश कसरी चलाउँछ ? परिषद्का अरु सदस्यको काम योग्य र क्षमतावान मान्छे छ कि छैन भनेर ‘भेटिङ’ गर्ने हो । अरुले सहमतिको जुन आधार राख्ने कुरो छ, त्यो ‘भेटिङ’ गरेर गर्नुपर्ने हो ।

के भइदियो भने जति नियुक्ति हुन्छ, त्यसमा संवैधानिक परिषद्का सदस्यहरूबीच भागवण्डा हुन थाल्यो ।  पद बाँडफाँट गरी निर्णय गराउन थालेपछि प्रधानमन्त्रीले आफ्नो प्रस्तावकको क्षमता पनि गुमाए ।

अनि अरु सदस्यहरूले पनि ‘हाम्रो समर्थन चाहिने हो भने हाम्रो मान्छे पनि हुनुपर्छ’ भन्दै भाग खोज्न थाले । त्यसपछि नियुक्तिको सिफारिस भागबण्डाका आधारमा हुन लाग्यो ।

अनि त्यो परम्परा बिग्रियो । बिग्रिएको परम्पराका आधारमा कहिले प्रतिपक्षी दलको नेता उपस्थित नभइदिने, सभामुख उपस्थित नभइदिनेसम्म भयो ।

ऊ बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संवैधानिक परिषद् ऐन संशोधन गर्नुभो ।

एकपटक अध्यादेशबाट नै पनि गरियो । अहिले फेरि अर्को संशोधन प्रस्ताव ल्याइँदैछ । यी सबै उस्तै उद्देश्यबाट प्रेरित छन् ।

यसले दुई मूलतः कुरालाई असर गर्छ– पहिलो, प्रधानमन्त्रीले एकल रूपमा गर्ने हो भने यो चाँजोपाँजो गर्नु नै परेन । ‘भेटिङ’ गराएर गर्ने हो भने अरुसँग अंशवण्डा गर्ने असर नै छैन ।

यदि परिषद्का पदाधिकारीबीच संवैधानिक पदहरूको अंशवण्डा नगर्ने हो भने त्यो प्रधानमन्त्रीको अधिकार र ‘भेटिङ’ गर्ने व्यक्तिहरू (परिषद् सदस्यहरू)को अधिकारलार्ई स्पष्ट गरेर संशोधन प्रस्ताव ल्याउनुपर्‍यो । अहिलेको संशोधन प्रस्तावमा त्यो छैन ।

अहिलेको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६’को संशोधन प्रस्तावको उद्देश्य दूषित छ । यसले एकातिर प्रधानमन्त्रीलाई पनि कमजोर बनाउँछ । अर्कोतिर अब प्रधानमन्त्रीमाथि कुनै किसिमको ‘चेक’ हुँदैन । यो भागवण्डाको निरन्तरता हो ।

अहिलेको अवस्था हेर्दा संवैधानिक परिषद्मा बहुमत प्रतिपक्षी दलका नेतासँग छ ।

प्रस्तावित संशोधन विधेयकमा संवैधानिक परिषद्को बैठकमा ‘सर्वसम्मतिबाट निर्णय हुन नसकेमा अध्यक्ष र तत्काल कायम रहेका कम्तिमा ५० प्रतिशत सदस्यहरूको बहुमतबाट निर्णय गरिने’ व्यवस्था प्रस्ताव गरिएको छ । त्यसैले संवैधानिक परिषद्बाट निर्णय नै हुन नसकेर ‘डेडलक’ पनि हुनसक्छ ।

संवैधानिक परिषद्को उद्देश्य निष्पक्षता हो तर भाग खोज्नेबित्तिकै त्यहाँ समस्या आउँछ । प्रधानमन्त्रीले प्रस्ताव गर्ने र अरुले ठीक वा बेठीक मात्र भन्ने हो । नामहरूबारे निष्पक्ष छलफल गर्ने हो । नियुक्तिको अधिकार प्रधानमन्त्रीकै हुनुपर्छ । शक्ति पृथकीकरणको आदर्श पनि त्यही हो । यसलाई खण्डित गर्न हुँदैन । जो सदस्यहरू छन्, उनीहरूले ‘भेटिङ’ गर्ने हो । यो कुरा ऐनमा उल्लेख हुनुपर्छ ।

बहुमतका आधारमा निणृय गर्ने व्यवस्था गरेर प्रधानमन्त्रीलार्ई सजिलो त भयो तर उनको उद्देश्य त पूरा भएन । जब बहुमतकै कुरा आउँछ, त्यो बहुमत गर्दा प्रधानमन्त्री नै पनि अल्पमतमा पर्ने अवस्था आउनसक्छ । बहुमतले गर्ने भन्ने कुरो संविधानको उद्देश्य पनि होइन, गर्न पनि हुँदैन ।

संवैधानिक परिषद्मा जति सदस्यहरू छन्, उनीहरूको अनिवार्य उपस्थितिको व्यवस्था गरिनुपर्छ । अनिवार्य उपस्थिति हुन नसक्ने परिस्थितिका लागि सर्वसम्मति नभए पनि ‘सुपर मेजोरिटी’ हुनेगरी व्यवस्था गर्न सकिन्छ । ‘सुपर मेजोरिटी’ भन्नाले ५० प्रतिशतभन्दा बढीको समर्थन हुनुपर्छ ।

अहिले जे अभ्यास भएको छ र जे गर्न खोजिँदैछ , त्यो तथानाम भयो । यसको कुनै अर्थ छैन । यो प्रणालीलाई ध्वस्त पार्नतिरै गएको हो । अंशबण्डाको चलन जहिलेदेखि चल्यो, ध्वस्त त्यसैदेखि गर्न थालेको हो । त्यसलाई अहिलेको व्यवस्थाले विधिवत रूपमा सिध्याउने काम गर्ने भयो ।

(संविधानविद् अधिकारी काठमाडौं विश्वविद्यालयका प्राध्यापक हुन् । उनीसँग गरेको कुराकानीमा आधारित ।)

  • साझा परिवेश
  • सोमवार, चैत्र १३, २०७९ १४:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट