इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सले शीर्ष स्थानको गुजरात टाइटन्समाथि ५ रनको रोमाञ्चक जित हासिल गरेको छ। मंगलबार राति भएको लो-स्कोरिङ खेलमा दिल्लीले १ सय ३० रन जोगाउँदै ५ रनको जित निकाल्यो।

टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो। उसका लागि अमन हाकिम खानले ५१ रनको अर्धशतकीय इनिङ खेल्दा अक्षर पटेलले २७ तथा रिपल पटेलले २३ रन बनाए।

त्यस्तै, प्रियम गर्गले १० रन बनाउनु बाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन्। गुजरातका लागि हार्दीक पाण्ड्याले ४ विकेट लिएका थिए।

१ सय ३१ रनको लक्ष्य पछ्याएको गुजरातपनि दिल्लीको कसिलो बलिङसामु खुलेर खेल्न असफल भयो। गुजरात निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २५ रनमात्र बनाएको थियो। उसका लागि हार्दिक पाण्ड्याले ५९ रनको नटआउट इनिङ खेलेपनि टिमलाई जित दिलाउन सकेनन्। त्यस्तै अभिनभ मोनोहरले २६ रन बनाउँदा राहुल टेवाटियाले ७ बलमा २० रनको विष्फोटक इनिङ खेलेपनि टिमलाई अङ्क दिलाउन पर्याप्त रहेन।

जितपछिपनि दिल्ली ९ खेलबाट ३ जित सहित अङ्क तालिकाको पुछारमा छ। पराजयका बाबजुत गुजरात १२ अङ्कका साथ शीर्ष स्थानमा कायम छ। गुजरातको यो लगातार तीन जितपछि पहिलो हार हो। उसले ६ जित निकालेको छ।