June 13, 2024 | बिहिबार, जेष्ठ ३१, २०८१
सुचनाहरु
श्री केश तेल गुणस्तरीय रहेको उत्पादन कम्पनीको दावी घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? कस्तो रहला आजको मौसम ? प्रतिनिधि सभाको बैठक दुई दिन स्थगित मोदीको शपथ ग्रहणमा भाग लिन प्रधानमन्त्री दाहाल आज भारत जाँदै दुर्ब्यशन विरुद्ध रङ्गभर्दै गौरादह जेसीज सुनको मूल्यमा नयाँ कीर्तिमान टी-२० विश्वकप: नामिबियामाथि स्कटल्याण्ड ५ विकेटले विजयी गौरादहमा खुल्यो “दर्पण कला सँसार”…… गृहमन्त्रीले गिरीबन्धुको फाइल खोल्ने होइन, बोल्नपनि सक्नुहुन्न : विश्वप्रकाश शर्मा मोदीको शपथ ग्रहण समारोहमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड सुनको मुल्य अहिलेसम्मकै उच्च बालेनलाई न्यूरोडको फुटपाथ बढाउन दिनुपर्छ, केन्द्रको हस्तक्षेप बन्द गर- महामन्त्री शर्मा प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ आजको कार्यसूची स्रोत नखुलेको ६९ लाखसहित चारजना चिनियाँं नागरिक पक्राउ टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियासँग ओमान ३९ रनले पराजित सहकारी ठगि छानबिन संसदीय समितिको पहिलो बैठक शुरु विपद क्षेत्रको रिपोर्टिङमा जाने पत्रकार र स्वयंसेवकलाई तालिम दिइने सेयर बजारमा ५.५८ अंकको गिरावट हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना

छडको भाउ बढ्यो, एक तले घरमा कति लाग्छ खर्च?

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ ११:२१
छडको भाउ बढ्यो, एक तले घरमा कति लाग्छ खर्च?

पछिल्लो समय विकास निर्माणका काम सुस्त भएकाले बजारमा निर्माण सामग्रीको माग कम भएको छ। माग घटेपछि इँटा, गिटी-बालुवा जस्ता निर्माण सामग्रीको भाउ सस्तिएको छ। तर फलामे डन्डी (छड) को भाउ गत वर्षदेखि नै उकालो लागिरहेको छ।

एक साताअघि मात्र पनि छडको भाउ बढेको छ।

जडिबुटीस्थित ‘कोटेश्वर डन्डी पसल’ का सञ्चालक दीपक श्रेष्ठका अनुसार डन्डी किलोमा दुईदेखि तीन रूपैयाँ बढेको हो। अहिले बजारमा ब्रान्ड हेरेर डन्डी एक सय १६ देखि एक सय २० रूपैयाँ किलोसम्म पाइन्छ। बढ्नुअघि एक सय १४ रूपैयाँदखि एक सय १७ रूपैयाँसम्म पर्थ्यो।

छडको आकार हेरेर भाउ फरक पर्छ। सामान्यतया ८ मिमी र योभन्दा कम आकारको किलोमा पाँच रूपैयाँसम्म महँगो हुन्छ। २० मिमीभन्दा मोटो पनि महँगो पर्छ।

श्रेष्ठका अनुसार १०, १२ र १६ मिमी डन्डीको मूल्य अहिले प्रतिकिलो एक सय १६ रूपैयाँ छ।

त्यस्तै ८, २० र २५  मिमीको साढे १९ देखि २० रूपैयाँ पर्छ।

‘यो भाउमा कम्पनी र ब्रान्डअनुसार थोरै तलमाथि हुन सक्छ,’ उनले भने।

नेपालमा डन्डीको भाउ अन्तर्राष्ट्रिय बजारमा बिलेटको मूल्यमा हुने घटबढलाई आधार मानेर निर्धारण गरिने उद्योगीहरूको भनाइ छ। बिलेट भनेको फलामका लामा र ठूला डन्डी हुन्। यसैलाई उद्योगहरूले पगालेर आवश्यकताअनुसार विभिन्न आकारका छड बनाउँछन्।

विश्व बजारमा बिलेटको भाउ बढिरहेकाले हामीकहाँ छडको भाउ बढेको उद्योगीहरूको भनाइ छ। डन्डीको मूल्य पोहोर पनि चर्चाको विषय बनेको थियो। सरकारले गत आर्थिक वर्षको संशोधित बजेटमा छडको कच्चा पदार्थ स्पन्ज आइरन (यसबाट बिलेट बनाइन्छ) आयातमा भन्सार शून्य बनाएको थियो। बिलेटमा भने भन्सार कर र अन्तशुल्क दुवै बढाएको थियो।

हामीकहाँ सोझै बिलेट आयात गरेर छड बनाउने उद्योगहरू छन्। स्पन्ज आइरन ल्याएर, त्यसबाट बिलेट बनाएर अनि मात्रै छड बनाउने पनि छन्। त्यसैले सरकारी नयाँ नीतिसँगै उद्योगी विभाजित भएका थिए। सोझै बिलेट आयात गर्नेले कर बढेपछि बिलेट आयात गर्नै नसक्ने अवस्था रहेको भने। स्पन्ज आइरन आयात गर्नेले सरकारको नीतिले नेपाली उद्योग फस्टाउने बताए।

सरकारको नीतिसँगै विभाजित उद्योगीले आफूअनुकूल डन्डीको भाउ तोक्न थालेका थिए। त्यो बेला उद्योगी- व्यवसायीलाई गुटबन्दी गरी मूल्य बढाएको आरोपसमेत लाग्यो। उद्योगी-व्यवसायीले भने पोहोरदेखि नै अन्तर्राष्ट्रिय बजारमा बिलेट महँगिएका कारण छडको भाउ बढाउन बाध्य भएको बताउँदै आएका छन्।

चार कोठाको एक तले घर बनाउन छडमा कति पैसा छुट्याउनु पर्ला?

हामीले यहाँ चार वर्षदेखि घर निर्माण गर्दै आएको बिएल एन्ड कन्स्ट्रक्सन कम्पनीका सिइओ ध्रुवबहादुर कार्कीको सहयोगमा एक तले घर बनाउन छडमा लाग्ने खर्चको विवरण निकालेका छौं।

कार्कीका अनुसार कुनै पनि संरचना निर्माणमा कति छड लाग्छ भन्ने कुरा त्यो संरचनामा राखिने पिलर, भित्रको पर्खाल आदिले निर्धारण हुन्छ।

यहाँ हामीले एक हजार वर्गफिटभन्दा कम क्षेत्रफलमा बन्ने चार कोठाका लागि १२ वटा पिलर हिसाब गरेका छौं।

‘यत्तिको घरको जग कम्तीमा पाँच फिट गहिरो हुनुपर्छ। जगबाट पिलर उठाउँदा हरेक पिलरमा एक सय २५ किलोभन्दा बढी डन्डी लाग्छ,’ उनले भने।

यो हिसाबले १२ वटा पिलरमा एक हजार पाँच सय किलोभन्दा बढी डन्डी चाहिन्छ।

बिममा पनि डन्डी लाग्छ। कार्कीका अनुसार बिममा १२ मिमीको डन्डी र ८ मिमीको फलामे रिङ प्रयोग गर्नुपर्छ। यो सबमा थप ६ सय २० किलोभन्दा बढी छड प्रयोग हुन्छ।

त्यस्तै डिपिसी बिममा ६ सय २० केजीभन्दा बढी डन्डी चाहिन्छ।

यसपछि झ्यालमा तल र माथि गरी १० मिमीको डन्डी चाहिन्छ। फलामकै हुक पनि आवश्यक पर्छ। यो दुवै गरेर करिब तीन सय केजीभन्दा बढी छड प्रयोग हुन्छ। यहाँ चार कोठे घरका हरेकमा दुइटा झ्यालको हिसाब गरिएको छ।

धेरै डन्डी चाहिने अर्को ठाउँ भर्‍याङ हो। यहाँ १२ मिमी डन्डी प्रयोग हुन्छ। एक तलाको हिसाब भएकाले लगभग ९० किलो लाग्छ।

पहिलो तलाको बिममा छत अडिएको हुन्छ। थप ६ सय २० किलोभन्दा बढी यहाँ प्रयोग हुन्छ। समग्रमा पहिलो तलामा तीन वटा बिम हुन्छ जहाँ बराबर डन्डी चाहिन्छ।

छतमा सबभन्दा धेरै डन्डी प्रयोग गर्नुपर्छ। यहाँ १० र ८ मिमीका छड प्रयोग गरिन्छ। जम्मा छतका लागि करिब दुई हजार दुई सय किलो अनुमान गर्नुपर्छ। यति भएपछि पहिलो तलाका लागि डन्डीको मात्रा पूरा हुने कार्कीले बताए।

‘माथिको लागतका आधारमा एक तले घरको जगदेखि ढलानसम्म ५ हजारदेखि ६ हजार किलो डन्डी अनुमान गर्नुपर्छ,’ उनले भने।

पछि तला उठाउने हो भने पिलरको भाग  बढ्छ। डन्डीको मोटाइ पनि बढ्छ। अहिले एक तला घर बनाउने र पछि थप्न भनेर पिलर उठाएर छोड्ने हो भने माथि भनिएको परिमाणको डन्डी आवश्यक पर्ने उनले बताए। तला नथपी छाडिराख्ने हो भने छड थोरै कम लाग्छ।

एक तले घरमा मुख्य डन्डीबाहेक करिब एक सय पचास किलो बाइन्डिङ वायर प्रयोग हुने उनी बताउँछन्।

यो त भयो डन्डीको परिमाणको हिसाब। अब कति पैसा लाग्छ भन्ने हेरौं।

हाल विभिन्न कम्पनीअनुसार डन्डीको उपभोक्ता मूल्य एक सय १६ रूपैयाँदेखि एक सय २० रूपैयाँसम्म छ।

यो भाउकै आधारमा हेर्दा एक तले घर बनाउन छडमा मात्र कम्तीमा ५ लाख ८० हजार रूपैयाँ चाहिन्छ। बढीमा सात लाख २० हजार रूपैयाँसम्म खर्च हुन्छ।

छड किन्ने बेलामा ध्यान दिनुपर्ने कुरा

साधारणतया छडको ग्रेड जति बढी भयो, त्यति नै बलियो मानिन्छ। ग्रेडले डन्डीको बलियोपन बुझाउँछ। उच्च ग्रेडको भए थोरैले काम चल्छ र बलियो पनि हुन्छ। लचकता बढी भएको छडले घर भूकम्प प्रतिरोधी बनाउन मद्दत गर्छ।

योसँगै छडको गुणस्तर, भारवहन क्षमता र लचकताबारे पनि उत्तिकै सचेत हुनुपर्छ।

निर्माण कम्पनीले छडको प्रयोगशाला परीक्षण नगरी बजार पठाउन पाउँदैन। उपभोक्ताले माग गरेको अवस्थामा कम्पनी वा आधिकारिक डिलरले उक्त रिपोर्ट देखाउनुपर्छ।

त्यस्तै नापतौल तथा गुणस्तर विभागले छडको गुणस्तर मापन गरेर एनएस चिह्न प्रदान गरेको हुन्छ। छडमा तोकिएको मापदण्ड पूरा नभए उत्पादन निषेध गरिने नियम छ। त्यसैले प्रयोगशालाको पछिल्लो रिपोर्ट र गुणस्तर चिह्न हेर्न बिर्सिनु हुँदैन।

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ ११:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्