काठमाडौं ।।
भृकुटीमण्डपमा पुस १२ गतेदेखि सञ्चालन भइरहेको आठौं घरजग्गा मेलामा उपभोक्ताको उल्लेख्य उपस्थिति देखिएको छ । लामो समयपछि घरजग्गा मेला सञ्चालन भएकाले घरजग्गा किन्ने क्रेता र बिक्रेताको उपस्थिति मेलामा उल्लेख्य रहेको आयोजकको दाबी छ । मेलामा रहेका सिडी डेभलपर्स, रोहनी हाउजिङ एण्ड सप्लायर्स प्रा.लि., ग्रिन हिल सिटी, ग्रिन सिटी नेपाल, सिजी प्रपर्टी रियल स्टेटले विशेष छुटसहित मेलामा आफ्ना ‘प्रपर्टी’ राखेका छन् ।
सिडी डेभलपर्सले मेलामा एउटा घरमा २५ लाखसम्मको छुट दिएको छ । डेभलपर्सका निर्देशक दीपक कुवँरले आवास आकृति कोलोनीमा भने एउटा घर किन्दा ३० लाखसम्मको छुट मेलामा आएर किन्ने उपभोक्तालाई दिइएको जानकारी दिए । आवास कोलोनी भनेर टोखामा नयाँ प्रोजेक्ट बनाइरहेको र सो कोलोनीमा एउटा घर किन्दा २५ लाखसम्मको छुट दिएको उनले बताए ।
ग्रिन हिल सिटीका अध्यक्ष भेषराज लोहनी, ग्रिन हिल सिटीले अहिले मुलपानीमा ग्रिन हिलसिटी भनेर नेपालकै ठूलो आयोजना सञ्चालन गरिरहेको बताउँछन् । जसमा ८०० वटा घरमध्ये १३ वटा घर मात्रै बन्न बाँकी छ ।