काठमाडौं ।।
स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज (बिहीबार) प्रतितोला एक लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भएको हो । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि साउन ४ गते सुनको मूल्य एक लाख १३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तर, त्यसयता यो मूल्यभन्दा तल कारोबार हुँदै आएको थियो ।
बुधबारको तुलनामा सुनको मूल्य ५०० रुपैयाँले वृद्धि भएको हो । त्यसदिन छापावाल सुन प्रतितोला एक लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँ घटेर कारोबार भएको छ । चाँदी एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।