• विजय लुम्फुङवा लिम्बु

एकपल्ट नेपालका पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान भनेको गुन्द्रुकको झोल जतिको पनि काम नलाग्ने जिनिस हो भनेका छन् । अथवा यसले केही पनि दिँदैन भन्नु खोजेको हो र यसको कति पनि महत्त्व छैन भन्न खोजेको हो । यो वहाँको अति ब्राह्मणवादी सोच हो ।

अहिले प्रदेश नं १ को नाम कोशी राखे पछि पूर्वमा आन्दोलनको आगो सल्केको छ र एक जना आन्दोलनकर्मी पदम लिम्बु (लाजेहाङ)ले शहदात प्राप्त गरिसक्नु भएको छ । अहिले फेरी नामले के दिन्छ ? भन्ने कुरा चर्चामा आएको छ ।

पहिचान के हो ? 

सामान्य अर्थमा पहिचान भन्नाले विशेषता अनुसार चिन्नु वा कुनै बस्तुको गुण विशेषता भन्ने बुझिन्छ । पहिचान अङ्ग्रेजी शब्द ‘आइडिनटिटि’को नेपाली रूपान्तरण हो जसको अर्थ हुन्छ कसैलाई अरू भन्दा फरक छ भनेर चिन्ने गुण वा विशेषता हो । डा. कृष्ण भट्टचन भन्नु हुन्छ (२०२१) “सरल रूपमा भन्नु पर्दा पहिचान भनेको समानता र भिन्नता हो अर्थात् हामी र अरूबिच फरकको कुरा हो ।”

वास्तवमा पहिचान व्यक्तित्व वा समूहको विशिष्ट विशेषताहरूको रूप हो जसले तिनीहरूलाई अरूबाट अलग देखाउन र देखिन सुविधा दिन्छ । जुन आधारमा एउटा व्यक्ति र समुदाय अर्को व्यक्ति र समुदायसँग छुटिन्छ । व्यक्ति र समुदायको स्वबोध र आफ्नो पन जसमा अलग इतिहास, संस्कृति, धर्म, भाषा, भेषभुषा, भूगोल, सामाजिक क्रियाकलाप आदिका माध्यमबाट निर्मित हुन्छ ।

डा.बाबुराम भट्टराई (२०७१) को विचारमा पहिचान उसको अस्तित्व र त्यसबाट उत्पन्न आत्मविश्वास हो । त्यसपछि अरू आर्थिक, सामाजिक र राजनीतिक कुरा आउँछ । यस आधारमा के भन्न सकिन्छ भने पहिचान सबै भन्दा पहिले आउँछ किन की त्यो अस्तित्वसँग जोडिएको हुन्छ ।

त्यसपछि मात्र अन्यहरू आउँछ । प्राध्यापक पिटर ब्रुक (२०२०) भन्नु हुन्छ “पहिचानले हामीलाई बताउँछ कि हामी को हौँ, र अरूलाई हामी को हौँ भनेर घोषणा गर्छन् ” । यसर्थ पहिचानले व्यक्ति तथा समुदायलाई अन्य व्यक्ति वा समुदाय सँग फरक देखाउँछ ।

पहिचानको निर्माण एक दिनमा भएको हुँदैन । त्यसमाथि सामुदायिक  पहिचानको निर्माणमा इतिहास, भूगोल, संस्कृति र राजनीतिले महत्त्वपूर्ण प्रभाव पारेको हुन्छ । मानवशास्त्रि डा.डम्बर चेम्जोङको अनुसार पहिचानको सवाल र पक्ष वैयक्तिक र सामूहिक हुन्छ भन्नु भएको छ ।

मानिस जन्मेपछि क्रमशः सामाजिकीकरणको क्रममा मानिस सामाजिक र सांस्कृतिक बन्ने प्रक्रियामा प्रवेश गर्छ । उसले परिवार र समाजबाट  भाषा, नाता–कुटुम्ब, धार्मिक–सांस्कृतिक संस्कार रीतिथिति र पूजाआजा आदिको माध्यमले उ क्रमशः सामाजिक बन्दै जान्छ र त्यसैको आधारमा सामाजिक हैसियत र भूमिकाहरू निर्माण गर्दै जान्छ ।

यस प्रकारले कुनै व्यक्तिको पहिचान निर्माणमा परिवार, भाषा, सामाजिक रहनसहन, संस्कृति, धार्मिक पूजाआजा र चाडपर्वले मुख्य भूमिकाले निर्धारण गर्ने गर्दछ ।

किन कोशी प्रदेश विरुद्धमा आन्दोलन ?

नेपालका इतिहासकारहरू नेपालको सन्दर्भमा उपनिवेशवाद चर्चा गर्न रुचाउँदैनन् । तर नेपालमा गोर्खाको राज्य विस्तार देखि नै पहाडे हिन्दु बाहुनक्षेत्रीहरुको उपनिवेश चलिरहेको छ । गोर्खा राज्यले अन्य राज्यहरूमा माथी शाम, दाम, दण्ढ र भेदका नीति सहित अति हिंसात्मक आक्रमण गरी अन्य राज्यहरूलाई कब्जा गरे ।

त्यसपछि ती कब्जा गरिएका राज्यहरूको श्रोत साधन कब्जा गरी ती राज्यहरूमा रहेका जातिहरूको धर्म र संस्कृतिलाई नष्ट गरे । राज्य सत्तामा कुनै खास एक जाति, वर्ग, लिङको मात्रै वर्चस्व रह्यो र अन्य जाति, समुदाय, लिङ, क्षेत्र राज्यबाट अपहेलित भए ।

यो अवस्थामा अपहेलितहरूले पहिचान खोज्न स्वाभाविक हो । हामीले के बुझ्नु पर्दछ कि पहिचानको आन्दोलन भनेको उपनिवेशवाद विरुद्धको आन्दोलन हो । नेपालमा अहिले हिन्दु ब्राह्मण एकलवादी जातीय उपनिवेशवादको कारणले आदिवासी जनजाति र सीमान्तकृत समुदायहरूको अस्तित्व सङ्कटमा छ ।

पूर्वी नेपालमा कोशी प्रदेशको नामकरण सँग सँगै त्यसको विरुद्ध सशक्त आन्दोलन उठिरहेको छ । त्यसको पछाडि अत्यन्त ठोस कारणहरू छन् । अहिलेको प्रदेश नं १ नेपालमा लिम्बु (याक्थुङ), राई, शेर्पा,  कोच आदि जातिको थाकथलो हो र उनीहरू त्यस क्षेत्रका आदिवासीहरू हुन् ।

त्यस क्षेत्रमा उनीहरूको पुर्ख्यौली भूमि, परम्परा र त्यसले स्थापित मूल्य मान्यताहरू ऐतिहासिक काल देखि निरन्तर छ । त्यस क्षेत्रमा ऐतिहासिक कालमा उनीहरूको राजनीतिक सत्ता भएको कुरो प्रष्ट इतिहास छ । त्यस क्षेत्रका लिम्बु (याक्थुङ), हरू गोर्खासँग लडेका र वि.स.१८३१ को सन्धि मार्फत वर्तमान भूगोलमा समाहित भएका इतिहासमा पाउँछौँ ।

किपट परम्परा त हिजो अस्ति सम्म हामीले देखेका छौँ । लिम्बुवान आन्दोलनसँग नेपाल सरकारले २०६४.११.१८, २०६४.१२.०६ र २०६८.०७.३० (नेपालको शान्ति प्रक्रियामा हाल सम्म भएका सम्झौता, सहमति, समझदारी, घोषणा र निर्णयहरूको सङ्कलन, २०६९) मा सम्झौता गरेको थियो ।

त्यसरी नै वि.स.२०७३ साल वैशाख १३ र १४ गते लिम्बुवान राष्ट्रिय सम्मेलनमा त्यस क्षेत्रमा थाकथलो खुलेका तथा नखुलेका सबै समुदायहरूले पहिचानको सहितको राज्यसत्ता स्थापनालाई स्वीकार गरेका पाउँछौँ (लिम्बु २०७५) । यसर्थ पहिचानको सहित नामलाई सबै समुदाय र तत्कालीन राज्यसत्ताले पनि स्वीकार गरेको देखिन्छ ।

त्यसरी नै लिम्बुवान आन्दोलनको नाममा नै राज कुमार आङदेम्बे र मनिल तामाङले शहदात प्राप्त गरी सक्नु भएको छ । भने भर्खरै कोशी प्रदेश विरुद्ध र पुनः नामकरण आन्दोलनमा पदम लिम्बु लाजेहाङले शहदात प्राप्त गर्नु भयो ।  यस्तो अवस्थामा पनि प्रदेश सभाले कोशी औपनिवेशिक नाम राख्दा त्यस क्षेत्रमा आन्दोलनको ज्वारभाटा उठ्नु स्वाभाविक हो ।

पहिचानले के दिन्छ ?

प्रा.लोकराज बराल (२०६९ः२६०) अनुसार “भाषा, संस्कृति, धर्म, जाति भूगोल सबै मिली पहिचान बन्छ । यी सबै पक्षको सन्तुलित समायोजनले नै राष्ट्रियता बलियो हुनसक्छ ” । यसबाट के स्पष्ट हुन्छ भने पहिचान नै राष्ट्रियताको आधार हो । पहिचानले निश्चित समुदायमा तपाईँको सदस्यताको आधारमा तपाई को हुनुहुन्छ भन्ने बुझाई जनाउँछ ।

त्यस कारण पहिचान व्यक्ति र समुदायको असित्वसंग पनि जोडिन्छ । पहिचानले नै मानिसले आफूलाई गर्व महसुस गराउँछ । म पनि यो देश र राज्य सँग जोडिएको छु भन्ने बुझाउँछ । र यसले राष्ट्रियता मजबुत बनाउँछ । त्यस कारण देश भित्रका सबै जाति (राष्ट्र)हरूको अस्तित्वलाई स्वीकार गर्दा नै हाम्रो राष्ट्रिय राष्ट्रियतालाई मजबुत बनाउँछ ।

भवानी बराल (२०७०) ले “पहिचान भनेको स्थानीय सत्तालाई बलियो बनाउने, उत्पीडित र पाखा परेका वर्गलाई समताका आधारमा माथि ल्याउने अनि सबै भाषा, संस्कृति, क्षेत्र र वर्गको आत्म सम्मान उँचो पार्नु हो” भनी उल्लेख गरेका छन् ।

आदिवासीहरू नेपालको विकासको मुलप्रवाहबाट अलग पारिएका छन् पहिचानले उनीहरू राज्यको मुलप्रवाहमा समाहित हुन सक्छन् । पहिचान स्थापित गराउँदा त्यस ठाउँका जनताहरूले अपनत्व महसुस गर्छन् र राज्यका गतिविधिमा उनीहरूको सहभागिता पनि वृद्धि हुने गर्दछ । पहिचान विकासको पहिलो पाइला हुन सक्छ ।

डा.कृष्ण भट्टचन भन्नु हुन्छ (२०२१) “नाम फेरेसँगै त्यो सँग अन्तरसम्बन्धित् ऐतिहासिक, आध्यात्मिक, सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक, भावनात्मक, राजनीतिक , जीविकोपार्जन तथा पहिचान लगायतका कुराहरू एकपछि अर्को गदै विलय गराउने तथा बाहुनवादीहरूले सदीयौं दलीमली गर्ने नीति, योजना, रणनीति तथा कार्य नीति हो” ।

नाम (पहिचान) सँग त्यो व्यक्ति र समुदायको इतिहास, सामाजिक सांस्कृतिक मूल्य, मान्यता, भावनात्मक र राजनीति जोडिएको हुन्छ । यदि पहिचान नामेट गरिदिएको अवस्थामा त्यो व्यक्ति र समुदायको अस्तित्व नै नामेटमा हुन्छ प्रदेश नं १ मा अहिले भएको पनि यही हो । कोशी प्रदेश नामकरणले त्यस क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजातिहरूको अस्तित्व नै सकटमा पार्ने देखिन्छ ।

केही विद्वानहरू पहिचानले समृद्धि दिँदैन भन्छन् तर समृद्धिको पहिलो आधार नै पहिचान हो । जहाँ राज्यका सबै जाति र समुदायमा समान अधिकार हुन्छ, राज्यका हरेक अङ्गमा समान पहुँच हुन्छ त्यहाँ सुख र शान्ति हुन्छ । त्यहाँ एक अर्कामा सम्मान हुन्छ । यसैको आधारमा मात्र राज्य विकासको गतिमा अधि बढ्न सक्छ । त्यसैले पहिचानले हाम्रो राष्ट्रियता मजबुद हुन्छ भन्ने देश समृद्धिको मार्गमा अधि बढ्छ ।

अन्तमा

नेपालमा २५० वर्ष भन्दा बढी देखि एकल बाम्ह्रणवादी राज्यसत्ता चलिरहेको छ । राज्यका हरेक अङ्गहरूमा एक जाति, एक धर्म र एक संस्कृतिवालाहरूको हैकम छ । यसैको विरुद्ध हो पुनः नामकरण आन्दोलन । वर्तमान सरकारले कोशी प्रदेश नामकरणको पश्चगामी निर्णयलाई सच्याउनुको विकल्प छैन । राज्यले गम्भीर भएर नसोच्दा अलग राज्यको आन्दोलनको दिशामा वर्तमान आन्दोलन नजाला भन्न सकिन्न किन कि लिम्बुवान हिजो अलग राज्य नै थियो । नोगेन ।